संस्मरणः भूकम्पपीडित क्षेत्रबाट ज्यान जोगाएर फर्कँदा

July 17, 2016

संस्मरणः भूकम्पपीडित क्षेत्रबाट ज्यान जोगाएर फर्कँदा

गतवर्ष आएको भूकम्पले सबैभन्दा प्रभावित जिल्ला हो सिन्धुपाल्चोक । न्युजरुममा सँधै सहकर्मीको समाचारलाई रंगरोगन गरेर पाठकसमक्ष पस्कँदै आएको मलाई यस महाविपत्तिमा सिन्धुपाल्चोकको विपत्तिको अवस्थालाई नजिकबाट नियाल्ने हुटहुटी जाग्यो ।

ग्रामीण महिला सञ्जालका ध्रुबप्रसाद घिमिरेले आफू सिन्धुपाल्चोकको स्थिति बुझ्न जान लागेको बताउँदा मलाई साथी मिलेको अनुभूति भयो । त्यस्तो प्रभावित क्षेत्रमा रित्तै कसरी जाने ? ध्रुबजीले केही दाताको सहयोग जुटाउनुभएको थियो । त्यही रकमले उहाँले एउटा मिनी ट्रकमा चामल, चिउरा, बिस्कुट, त्रिपाल र नुन लोड गराउनुभयो । त्यसपछि हामी मिनी ट्रकमा लोड गरिएको चामलका बोरामाथि बसेर भूकम्प गएको पाँचौं दिन लाग्यौं अतिप्रभावित क्षेत्रतिर ।

सिपाघाट पुग्दानपुग्दै भूकम्पको बिनाशलीला भयावहरुपमा देखियो । इन्द्रावती पारिका आधा दर्जनभन्दा बढी गाविसका बासिन्दाको त्यस ब्यापारिक केन्द्रका २५३ घर एउटै सद्दे थिएनन् ।

भूकम्प गएको पाचाैं दिन बल्ल सेनाले एउटा डोजर लगेर भत्किएका घरले छेकेको सडकबाट भग्नावशेष हटाउँदै बाटो खुलाउँदै थियो । बाटो खुल्ने आशामा पर्खेका बेला स्थानीय पीडितहरुसँग मैले कुरा गरेँ। घरको भग्नावशेष खोतल्दै गरेका सुजीत श्रेष्ठ त्यस्ता पीडित थिए, जसले घरसँगै तोतेबोलीमा सधैँ आफूलाई पछ्याइरहने छोरीसमेत गुमाएका थिए ।

त्यो बजारका बासिन्दाले ९ जना आफन्त गुमाएका थिए । सुजितजस्ता सबै पीडितहरु घरको भग्नावशेष पन्छाएर दैनिकीलाई सामान्य बनाउने प्रयास गर्दै थिए ।

इन्द्रावती पुल तरेर उकालो लाग्नेबेला हामीले लगेको मिनी ट्रकका मालिकले गाउँमा जान नसक्ने बताए । लगिएको राहत सामग्री त्यतिखेरै ट्याक्टर खोजेर लोड गरियो ।

ट्याक्टरमा बसेर टोपी खस्ने उकालो लाग्नुपर्ने । म र ध्रुबजीलाई सँगै गएका सिन्धुपाल्चोकका साथीले एकजना मोटरसाइकल चालकको जिम्मा लगाए, अगाडि गएर त्यस क्षेत्रको वस्तुस्थिति बुझ्न ।

अप्ठ्यारो, उकालो बाटो । पल्सरमा तीनजनाको यात्रा । ‘नखाउँ दिनभरको शिकार, खाउँ कान्छा बाउको अनुहार’ जस्तै भयो हाम्रा लागि मोटरसाइकलको यात्रा । खाल्डाखुल्डीयुक्त सडक, तीनजना नअट्ने सीट । घरी झर्दै, घरी चढ्दै हामीले यात्रालाई निरन्तरता दियौं ।

चालक दोर्जे तामाङ रहेछन् साह्रै दरिला र अनुभवी । उकालोको एक अप्ठ्यारो ठाउँमा हामी झरेर चालकलाई मोटरसाइकल लैजान भन्दै थियौं । हामी एकअर्कामा कुरा गर्दै थियौं, ‘दोर्जे साँच्चै दरिला रहेछन् ।’ सीपापोखेरेको वडा-४ मा भेटिएका वृद्ध गोपाल तामाङले सही थापे, ‘हाम्रो गाविसमै दुईजना बलिया ड्राइभर छन् । एउटा दोर्जे र अर्को कैलाश । उनको भनाइले थाहा भयो, हाम्रा चालक दोर्जे ट्रकका चालक रहेछन् ।

त्यहाँबाट उक्लिएर सीपापोखरेकै राजेश्वरी चोकमा पुग्दा देखियो, पक्की घरमा समेत भूकम्पको विनासलीला । ती घर जरै लगाएर ढलेका थिए । भग्नावशेषमा परिणत भएका घरको फोटो खिच्दै गर्दा पीडितहरु लाइन लागेर निस्कन्थे, अनि सुनाउँथे उनीहरुले भोगेको पीडा । सहानुभूतिको शब्द केही प्रकट गरेर हामी काठमाडौंसम्म यहाँको पीडा पुर्‍याइदिने आश्वासन बाँड्दै हिँड्थ्यौं ।

भोटसीपाको डाँडामा रहेको सानो बजारको नाम निशानै थिएन । त्यहाँ पीडितहरु टिनले बारेर अस्थायी टहरा बनाउँदै थिए । अलिपर भेटिइन् १९९० सालको भैँचालो भोगेकी ८७ बर्षीया आइती तामाङ । घर भत्किँदा माटोमा मिसिएको कोदो नाङलोमा राखेर केलाउँदै थिइन् उनी ।

मैले उनीसँग कुराकानी गर्दै गर्दा ध्रुबजी त्यहाँका पीडितको लगत संंकलन गर्ने जिम्मा दिन स्थानीय शिक्षक दयाराम तामाङलाई भेट्न पुग्नुभएछ । उहाँ यथार्थ पीडितहरुको लगत संकलन गरेर ठूलै परिमाणमा राहत लिएर तुरुन्त आउने योजनामा हुनुुहुन्थ्यो ।

त्यहाँबाट हामी भोटसीपा गाबिसतिर लाग्यौं । सीमानामै रहेको सीपा तीनधारा जनता माध्यमिक विद्यालय खण्डहरमा परिणत भएको थियो । त्यस विद्यालयका भूकम्प प्रतिरोधक ट्रससमेत ७ वटा भवन एउटै सद्दे थिएनन् । स्कुलको कार्यालयमा रहेका दराज, टेबुल, कुर्सी, स्टेशनरी र शैक्षिक सामग्री यत्रतत्र छरिएका थिए । लाग्थ्यो, यो विद्यालय बेवारिसे हो ।

विद्यालयको अवस्थाबारे त्यसका विद्यार्थी, अभिभावक र शिक्षकसँग कुरा गरेँ। झण्डै ४ सय विद्यार्थी अब कहाँ बसेर पढ्लान् ? कसरी पहिलेको अवस्थामा फर्काउन सकिएला यसलाई ? यस्तै सोच्दै हामी लाग्यौं भोटसिपाकै तीनधारा गाउँतिर ।

तीनधारा पुगेपछि खबर आयो, ट्याक्टरले राहतका सामाग्री तान्न सकेन । त्यसपछि दोर्जे हामीलाई छोडेर आफ्नो ट्रक लिएर लागे राहत लिन ।

त्यहाँ रहेका पीडितहरुसँग कुरा गर्दागर्दै साँझ पर्‍यो । यतिखेरसम्म ट्रक लिएर दोर्जे आएनन् । हामी आएकै बाटैबाटो फर्कँदै गर्दा बाटोमा रोकिएको ट्रक छेउमा कल्याङ्मल्याङ् सुन्यौं । पुग्दा थाहा भयो, स्थानीय बासिन्दाले आफूहरुलाई नदिई राहत अगाडि लैजान नदिने अड्डी लिएछन् । दोर्जे त्यहाँ राहत नछाड्ने, गाउँलेहरु लान नदिने । भिड बढ्दै थियो । सबै आक्रोशित थिए । कोही भिडबाट लुट्न उक्साउँथे । उनीहरुको आक्रोश जायज थियो । सबै पीडित थिए, कसैले राहत पाएका थिएन्न । उनीहरुको राहत रोक्ने तरिका मात्रै नाजायज थियो ।

मैले समाधान खोज्दै भनें, ‘आधा तपाईंहरुलाई दिलाइदिन्छौं, भिडसँग सहमति गरेर एकजना अगाडि आउनुस् ।’ भिडको नेतृत्व गर्ने कोही थिएन । कोही अगाडि सरेनन् । उनीहरु राहत लान नदिने मात्रै रट लगाउँथे । त्यहीबेला ध्रुबजीले ‘यो दोर्जेले व्यक्तिगतरुपमा ल्याएको हो’ भन्नुभयो । त्यसले उनीहरुमा आक्रोस झन् बढायो । उनीहरु बिल माग्न थाले । अब समस्या कसरी समाधान गर्ने ?

त्यहीबेला दोर्जेले जबर्जस्ती भीडलाई पेलेरै गाडी अगाडि बढाए । भीडलाई किचौँलाजस्तै गाडी अगाडि बढ्यो, बाटोमा गाडीलाई अवरोध गर्न राखिएको कुच्चिएको दराज र मुढालाई समेत पेल्दै ।

हामी उतै छुट्यौं । गाडीमा रहेका ध्रुबजी उहाँकी छोरी, गोमा, कुमार दाइलगायत अर्कोतिर भए । हामीलाई भिडले दोर्जेको मतियार ठान्दै थियो । हामी विस्तारै गाडी आएकोतिर छड्कियौं । जानुपर्ने भोटसीपातिर, तर हाम्रो यात्रा भयो सिपापाखरेतिर । ठ्याक्कै उल्टो । बीचमा नपुग्दै गाडीमा भएका एकजना साथीको फोन आयो, ‘पत्रकारलाई कुट्ने भनेका छन्, जोगिनु ।’

विपत्तिमा परेकाहरुको आक्रोश स्वभाविक थियो । राहत जहाँ भए पनि बाँड्नु नै थियो । त्यहीँ बाँडेको भए के बिग्रन्थ्यो र ? दोर्जेले पेलेर गाडी लगे । हामी पर्‍यौं अचानोमा । अब बाटोमा बस्ने कुरा भएन । उनीहरु बाटैबाटो खोज्दै आउन सक्थे । लाग्यौं जंगलतिर । त्यो अनकन्टार नचिनेको ठाउँ । फोन घरी लाग्छ, घरी लाग्दैन । लागे पनि राम्रो सुनिँदैन । गुहार्ने मान्छे पनि कोही छैन । ठूलो स्वर गरेर बोल्नु पनि भएको छैन । पर्‍यौं फसादमा ।

हामी यताउति भौंतारियौं । हामी त्यहाँ कोही आफन्तलाई राहत दिन गएका थिएनौं । वास्तविक पीडितले पाउन् भन्ने हाम्रो चाहना थियो । त्यसैले सुरुमा बुझ्न जाँदा थोरै लगेर लगत लिइसकेपछि आवश्यकता अनुसार छिट्टै लैजाने हाम्रो योजना थियो । त्यतिखेर याद आयो केही समयअघि पीडितको नामावली संकलन गर्न जिम्मा दिएका शिक्षक दयारामको ।

उनलाई हामीले गुहार्‍यौं । उनी आइपुगे । हामीले यथार्थ बतायौं । उनी हामीलाई त्यो गाउँ कटाइ दिन तयार भए । डराउँदै उनको पछिपछि हिँड्यौं । जाँदा अघिको स्कुलनजिकैको चौतारामा भाटा बोकेका तिनै अघिका ब्यक्तिको भीड बसिरहेको थियो । भीडबाट एक जना निस्केर कस्सियो, ‘अघि हामीलाई राहत लुट्न नदिने तपाईंहरु हैन ?’ हामीले सम्झाउन खोज्यौं । हामी यहाँको वस्तुस्थिति बुझ्न आएका । तपाईंहरुको समस्या काठमाडौंसम्म पुर्‍याउछौं ।’ मैले थपें, ‘मैले तपाईंहरुलाई राहत आधा पार्दिन खोजेकै हो, दोर्जेले गाडी कुदाइ हाल्यो । हामी के गर्न सक्छौं र ।’

ती सबैले मैले आधा पार्दिन खोजेको स्वीकारे । त्यतिखेरसम्म मैले भीडसँग कुरा गरिरहेकाले ध्रुबजीले टाप ठोकिसक्नु भएछ । भीडलाई सम्झाएर म पनि निस्कन सफल भएँ ।

बल्ल सास आयो । त्यसपछि तीनधारामा सँगै आएका साथीहरु भेटिए । सबैको निर्णय भयो, अब यहाँ नबस्ने । हामी राति नै लाग्यौं काठमाडौंतिर । हामीसँग सवारी साधन थिएन । अँध्यारोमा जूनले हामीलाई बाटो देखाउँदै थियो । अप्ठ्यारो बाटोमा लड्दै, उठ्दै भोट्सीपा -९ मा पुग्यौं ।

त्यहाँका गाउँले सबै बारीमै थिए । स्थानीय राजन आचार्यले उहाँका आफन्तलाई खाना बनाइराख्न भन्नुभएको थियो । बारीकै पाटामा बसेर खाना खायौं ।

रातको ११ बजेको थियो । हाम्रो समूहका कोही त्यहाँ बस्न तयार थिएनन् । गाउँमा गाडी कहाँबाट पाउनु ? रातभर कति हिँड्ने ? संयोगले त्यस दिन त्यहाँबाट बसाइ सर्न लागेको एउटा परिवारलाई लिन गाडी आउँदैरहेछ । मध्यरात (१२ बजे) एउटा ट्रक आयो । त्यसका चालकलाई उसकै मुखबमोजिमको भाडामा हामीलाई जिरोकिलोसम्म पुर्‍याइदिन आग्रह गर्‍यौं । आफूले भनेको भाडा पाउँदा कसले मान्दैन र ?

हामी त्यहाँबाट सवा १२ बजे ट्रकमा लाग्यौं काठमाडौंतिर । त्यो अप्ठ्यारो बाटो, रित्तो ट्रकमा पछाडि बसेर यात्रा । जतिसुकै कष्टकर भए पनि हामी ज्यान बचाएर आएका थियौं । त्यसमै हामी सन्तुष्ट थियौं ।

रातको तीन बजे हामीलाई ट्रकले काभ्रेको जिरो किलो पुर्‍यायो । एउटा होटलमा पस्यौं । त्यसका मालिक बाहिरै सुतेका थिए । उनले हामीलाई तीनजनालाई मात्र ठाउँ छ भनेर सडकपारिको एउटा खण्डहरजस्तै घरमा पुर्‍याए । धुलैधुलोको भूइमा ओछ्याउने केही कपडा थियो । त्यहीँ कोच्चिएर ४ जना सुत्यौं, हाम्रा लागि त्यही पाँच तारे होटलको सुइटरुमजस्तै भएको थियो ।

फेरि राहत बोकेर त्यही गाउँमा

काठमाडौं फर्केपछि ध्रुबजीले धेरैतिर पहल गरेर राम्रै सहयोग जुटाउनु भयो । ५ वटा गाडीमा ३ सय बोरा चामल, ५० बोरा चिउरा, ३ सय प्याकेट नुनलगायतका सामग्री लोड गरेर हामी तीन दिनपछि फेरि त्यही ठाउँमा पुग्यौं, जहाँबाट हामीले बल्ल ज्यान जोगाएर फर्केका थियौं ।

हामीलाई उनीहरुको व्यवहारप्रति आक्रोश थिएन । तिनै राहत लुट्न खोज्नेहरुलाई प्रतिपरिवार १ बोरा चामल, १५ किलो चिउरा, १ प्याकेट नुन बाँडिसक्दा उनीहरु हामीसामु त्यस दिनको घटनामा पश्चाताप गर्दै प्रकट भए ।

मैले त्यहाँ जाँदा गरेका रिपोर्टिङ उनीहरुलाई देखाएँ । उनीहरु झन् ग्लानीले पानीपानी भए । उनीहरुले ठानेछन्, ‘हाम्रो इँटको जवाफ यिनीहरुले राहत ल्याएर दिए ।’

Onlinekhabar २०७३ वैशाख १३ गते १०:१२ मा प्रकाशित