अन्तर्राष्ट्रिय बालिका दिवसको दिन नेपालमा पहिलो बालिका सम्मेलन

ग्रामिण महिला सञ्जाल नेपाल (रुओन)ले अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर नेपालमा पहिलो बालिका सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रम राजधानीको पद्मकन्या उच्च माविमा भएको हो । बालबालिकाको क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएको रुओनले बालिकाहरूको अन्तरनिहीत क्षमता उजागर गर्न तथा उनीहरूले भोग्नु परेको कठिनाई उजागर गर्दै न्यूनिकरणमा भूमिका खेल्न कार्यक्रम आयोजना गरेको बताएको छ । सम्मेलनमा मुलुकका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने करिव दुई सय बालिकाको उपस्थिति थियो । राष्ट्रिय महिलाआयोगकी प्रवक्ता तथा सदस्य मनु हुमागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामाजिक अभियन्ता एवम् पूर्व कम्लरी शान्ता चौधरी विशिष्ट अतिथि रहेकी थिइन् । समाजका अन्य प्रबुद्ध व्यक्तित्वहरू पनि उपस्थित सो सम्मेलनबाट मिरा तामाङको अध्यक्षमा एक राष्ट्रिय कमिटी पनि गठन भएको संस्थाका महासचिव ध्रुबप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार कार्यक्रमका बक्ताहरूले बालिकाको समस्याको उठान र त्यसको निराकरणका लागि कार्यक्रम निकै प्रभावकारी भएको भन्दै यसको निरन्तरतामा जोड दिए । उनीहरूले बालिकाको विकासमा समाजले ध्यान पुर्याउनु पर्न भन्दै संघसंस्थाहरू पनि उनीहरूको बैयक्तिक विकासमा निकै सहयोगी बनिरहेकोमा प्रशंसा पनि गरेका थिए ।

सम्मेलनमा बालिकाहरूले विभिन्न सांस्कृतिक प्रस्तुतीहरू पनि पस्किएका थिए । ‘हामीले बालिकाले सामाजिक रूपमा भोग्नु परेका कठिनाईहरू उजागर गर्न र उनीहरूको क्षमता विकासमा संस्थालाई साँझेदार बनाउनका लागि कार्यक्रम आयोजना गरेका हौँ’, सम्मेलनका बारेमा प्रकाश पार्दै महासचिव घिमिरेले भने, यो मुलुकमा पहिलो पटक भएको हो । पहिलो पटक भएका कारण साधन र स्रोत सिमित बन्न पुग्यो र जसका कारण बृहत रूपमा बालिकाकोबीचमा जान सकिएन ।आगामी दिनमा त्यसको पूर्ति हुनेछ ।’ रुओन नेपाल सामाजिक विकासमा प्रतिबद्ध संस्था भएको उल्लेख गर्दै उनले महिला तथा बालबालिकाको क्षेत्रमा अझै क्रियाशील हुने बताए । रुओनले बैशाख १२ को भूकम्पबाट आहत भएकाहरूका लागि राहत र पुनःस्थापनका विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।

nepalpati.com